आकाशबाट साउने कुहिरोले ढाक्दा लाग्छ पिरती फुल्ने नगर, अनि कुहिरो फुल्ने शहर हो । कुहिरोका लाभाहरुले सुन्दर हरियाली टाकुराहरुलाई क्षणभरमा लुकाउदा केहि समय हराउछ, क्षण भरमा रुझाउछ अनि सफा चकमन्न सुन्दर बनाउछ सपना फुल्ने त्यो गाउँलाइ । अचेल त साउन आएको छ रे, अनि त बर्षाद पनि संगै ल्याएको छ । हरियाली घुम्टोले छोप्दा सुन्दरतामा सजिएको त्यो गाउँ, यस्तो लाग्छ स्त्रीधारण गरेर बसेकी छे, नाकबेली स्वरूपमा बेहुली बनि सिंगारिएकि छे, प्रिय सपनाको गाउँ।
![siddarth-School---1](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/siddarth-School-1.jpg)
सपनाको गाउँ
सपनाको प्राङ्गणबाट उत्तर पुर्ब तिर कालाभिर गाउँ हराभरा छ, चैत मै पाक्ने चैते काफलगैरी अचेल टुसाएको छ । अलि पारि नाकबेली भै झरेको घोप्टेओढार र ढिडपिटेको गाउँ छ, जहाँ रिमझिम बर्षाद हुँदा किसान, हली, गोठालाहरु एकैछिन ओढारमा लुक्ने गर्छन, यस्तो लाग्छ त्यहि नाकबेलीको पाखा भरि रानी मैयाहरुको घरबार छ।
![Siddarth-School--2](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/Siddarth-School-2-1.jpg)
वारि कालिभिरगाउँ, पारि घोप्टे ओढार र ढीटपिटेगाउँ
पश्चिम तिर लोरिबिनी बस्ति छ, जहाँ परिवर्तनको सपनामा हर झाँझ निदाउने गर्छ र हर बिहान नयाँ सपनामा ब्युझने गर्छ। कुयापानीबासीहरु छिमेकीहरु सँग मितेरी गाँसेर बसेका छन, हरेक समय मितेरिका नयाँ सुत्रहरु कोरीरहेका छन रत सल्यानबासीहरु त्यहि मिठो मितेरी साइनो सँग झुमेका छन् अनि रमेका छन् ।
![Siddarth-School---3](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/Siddarth-School-3.jpg)
लोरिबिनी र कुया पानिगाउँ
दक्षिण पुर्ब डाँडाखुटी टाकुराको बस्ति छ, शिशिर निम्त्याउने पल्लवी मुनाहरु लहलह गर्ने खुटीछन्, अलि मुन्तिर खहरे खोला झाँक्रीसल्ला हुँदै कोप्ची बगेर गाउबेशी दोभान काटेको छ। पिरती फुल्ने याम जुनी-जुनीलाई साँचेर राखेको छ, बटुवाहरु बिसाउने लाँकुरी मुनि चौपारी ठाँटेको छ, त्यहि चौपारीमा बटुवा दाजु भारि बिसाई पसिना पुछ्दै छ।
![School-Dandakhuti--](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/School-Dandakhuti-.jpg)
डाँडाखुटी गाउँ र झाँक्रीसल्ला तिर
सपनाको सिरानी उत्तर दक्षिण तिर अग्लो घामताराको टाकुरा छ, जुन टाकुरामा दुखि गरिवहरुको आत्मामा शान्ति लहराउने सिद्दवावाको घरबास छ । सिसिर ऋतुमा बसाइँ सार्ने हुकाम मैकोटबासि भेडीग्वाला उकाली ओराली धाउने चिप्लो गोरेटो छ । जंगलका राजा फिरन्तेदाजु राउटेको कहिले काहीं हाटबजार हुन्छ । किसानहरुको जुनी बिसाउने टाकुरा बनेको छ, साइलीहरु बयाल खेल्दै सुसेल्ने पाखा बनेको छ । गृहेनी आमाहरु चुलो धुवाउने दाउरा खोज्ने दाउरे दोभान बनेको छ ।
![School-ghamtaara-](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/School-ghamtaara-.jpg)
घामतारा डाँडा
सपनाको बस्ति देखि सिधा पारि चम्फा फुल्ने घनाजंगलको मुन्तिर मनबिरहरुको बस्ति घरविर छ । जसले सपनालाई उर्जा र प्रेणा भर्नेगर्छ । दुखमा सपना रुँदा घरविर पनि सँग सँगै रोएको हुन्छ, सुखमा सपना हाँस्दा उ पनि सँग-सँगै हाँसेको हुन्छ, शायद घरवीर रुँदा सपना पनि रोयो होला, घरवीर हाँस्दा सँगै हाँस्यो होला, यहि नै हाम्रो चिनारी बनेको छ ।
![school-gharbir](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/school-gharbir.jpg)
सिधा पारि देखिने घरवीर गाउँ
खुसिहरुमा गुराँस फुलाउछौ, दुखहरुमा सान्त्वनाका साँझहरु निम्त्याउछौ र सुनौलो बिहानी खोज्दै मझेरीमा हराउछौ । रिमझिममा ओताउने ओढार बासीहरु, अनि काफल पाक्ने नाक वेली पाखाभरिका रानी मैयाहरु, परिवर्तनकामी लोरिबिनिहरु, मितेरी साँच्ने कुयापानी बासीहरु र ह्रिदयवासी घरवीरहरु खुसि साट्ने थलो हो पातिहाल्ना टाकुरो, त्यहि टाकुरामा नमुना विद्यालय निर्माण अभियानको सपना फुल्दै छ, ज्ञानको भण्डार बन्दैछ।
![school-area](https://siddharthamv.edu.np/wp-content/uploads/2016/07/school-area.jpg)
सपनाको गाउँ (नमुना विद्यालय निर्माण अभियानको स्थल)
सपनाको गाउमा, हाम्रो सपना पनि सामुहिक छ । सद्भाव युक्त स्वामित्वको विचार छ । रङ्गीचंगी फूलहरुको साझा फुलबारी छ । थरिथरि जातिका माल चरीहरुको बथान छ, अनि बेमौसममा पनि राष्ट्रिय फुल गुराँस फुलाउने हाम्रो एउटै सपना छ । जन्मे पछी मर्नै पर्ने मानिसको चोलामा बाँचुन्जेल सबको उस्तै सपना फुलाउने हाम्रो चाहा छ ।
मानवीय पहिचान भावनालाई साँछी राखी सपना फुलाउने हाम्रो अभियान छ र त सपनाको बिउ रोप्दै मुनाहरु टुसाएका छन् । टुसाएका सपनामा मुनाहरुलाई जगेर्ना गर्दै फुलाउनु छ अनि फलाउनु छ, जहाँ हरेक परिवर्तनकामी युवाहरुको सपना साकार भै समाज जुरुक्क माथि उठेको दिन भेटिने छ, त्यो मात्र केवल नमुना विद्यालय निर्माण अभियानमा सम्भब छ ।
हाम्रा सपनामाथि बैरीहरुले डाहा गर्नेछन, शत्रुहरु खुट्टा तान्ने छन् र दासिदुश्मनहरुले छेप्यास्त्र प्रहार गर्नेछन ! सड्यन्त्रका संजालहरु बुन्ने छन्, भ्रमको खेती गर्दै अफिम फलाउने छन् । आकाशमा मडारिने कालो बादलको सहारामा बमवारी गर्नेछन् तर हामी गल्ने छैनौ सपनाको महल ठड्याउन, चुक्ने छैन सपनाको घरवार जमाउन, झुक्ने छैनौ सपनाको दरबार ठड्याउन ।
एकदिन सपना नगरी हुनेछ, जुन दिन सारा दुनियाँले सपना नगरीलाई देखेर दुइ हातको तालि बजाएर रहेका हुनेछन । त्यो दिन सपना पुरा भएको हुनेछ !
जय सपनाको गाउँ !
सपनाको ठाउबाट देखिने दृश्यहरु :
तस्बिर: प्रेम बहादुर ओली – नमुना विद्यालय अभियान संयोजक
शब्द चित्र: केबी गुरुङ – नमुना विद्यालय सुचना विभाग प्रमुख