रोल्पा, ८ कार्तिक -प्रबिधि युक्त शिक्षाको ब्यबस्थापनका लागि सामुदायिक बिद्यालय सिद्दार्थ मा.वि. घोप्टेओढार जिनाबाङ रोल्पालाई नमूना बिद्यालयमा परिणत गर्न बिगत केहि बर्ष देखि चलिरहेको अभियान संग एनआरएनए स्विडेनले हातेमालो गरिरहेको छ । यसै अभियानलाई सफल पार्न भौतिक निर्माण तर्फ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विडेनले रोल्पाका बालबालिकाहरुका लागि दुई कोठे भवन सहयोग गरेको हो । उक्त भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम यहि कार्तिक ५ गते भब्य सम्पन्न भएको छ ।
एनआरएनए स्विडेन द्वारा अनुदान दिएको भवनलाई उद्घाटन गर्न एनआरएनए आइसीसी उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सह- कोषाध्यक्ष सोम सापकोटा, एनआरएनए आइसीसी सदस्य प्रवेश कुमार कुवर, एनआरएनए आइसीसी अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, एनआरएनए एनसीसी स्विडेन अध्यक्ष अर्जुन श्रेष्ठ र पर्बत समाज युके अध्यक्ष दधि आचार्यको बिशेष उपस्थिति थियो ।
दुईकोठे भवनको कुल लागत १०,४३,००० (दश लाख त्रिचालिस हजार) रहेको छ । जसमध्ये एनआरएनए स्विडेनको लागत अनुदान नगत रु ७,००,००० (नगत सात लाख) र जनश्रमदान लागत रु ३,४३,००० (तिन लाख त्रिचालिस हजार) रहेको छ । उक्त भवनको शिलान्यास २०७३ चैत्र २१ गते एनआरएनए स्विडेनका निबर्तमान महासचिव तथा वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले गर्नु भएको थियो ।
एनआरएनए स्विडेनको पहलमा रोल्पाका २० टुहुरा बालबालिकालाई चाइल्ड टु चाइल्ड अभियानको सहयोग
पश्चिम रोल्पाको बिकट सिद्दार्थ माविमा अध्ययनरत २० जना टुहुरा, जेहेन्दार, असाय, द्वन्द्व पिडित तथा अति बिपन्न र गरिव परिवारका बालबालिकाहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्विडेनको पहलमा चाइल्ड टु चाइल्ड (Child to Child) अभियान मार्फत पढ्नको लागि कापी कलम ड्रेस र अन्य खर्चको थप व्यवस्था गर्ने भएको छ ।
एनआरएनए स्विडेनले बिद्यालयलाई अनुदान दिएको भवन उद्घाटन समारोहका बीच थप कार्यक्रम चाइल्ड टु चाइल्ड सहयोग दुई बर्षका लागि संझौता भएको हो ।
स्विडेनमा बस्ने नेपालीका बालबालिकाहरुले स्विडेनमा पढ्दा आफुले खाने खाजा खर्चबाट मासिक ५० क्रोनर (रु. ५०० बराबरको) रकम बचत गरि सिद्दार्थ माविका अति निम्न स्तरका तथा गरिव बालबालिकाहरुलाई सहयोग गर्ने दुई वर्षे सम्झौता भएको छ । सहयोग दाताहरु र आगामी एनआरएनए एनसीसी स्विडेनको नयाँ कार्यसमितिको सहमतिमा दुई वर्ष पछी पनि पुनः थप सम्झौता हुने अर्जुन श्रेष्ठले बताउनु भयो ।
स्विडेनबाट सुरुभएको चाइल्ड टु चाइल्ड अभियानले देशका अन्य टुहुरा टुहुरा, जेहेन्दार, असाय, द्वन्द्व पिडित, अति बिपन्न तथा गरिव बालिकाहरुलाई सहयोग गर्न पहल गर्ने समेत श्रेष्ठले बताउनु भयो ।
भवन उद्घाटनमा सहभागी अतिथिहरु द्वारा बिद्यालयलाई सहयोग
एनआरएनए स्विडेन द्वारा अनुदान भवनलाई उद्घाटन तथा हस्तान्तरण गर्न उपस्थित एनआरएनए आइसीसी सदस्य प्रवेश कुवरले बिद्यालयको अक्षयकोषमा सहयोग स्वरूप रु. १,०१,१११ एकलाख एक हजार एकसय एघार सहयोग गर्नु भएको छ ।
अर्का अतिथि पर्वत समाज युकेका अध्यक्ष दधि आचार्यले रु. ५१,००० (एकाउन्न हजार) अक्षयकोषमा जम्मा गर्नु भएको थियो ।
एनआरएनए आइसीसी सहकोषाध्यक्ष सोम सापकोटाले बिद्यालयलाई ७५,००० बराबरको इ-लाइब्रेरी र अन्य थप सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष कुमार पन्तले नेपाली समाजको हितका लागि एनआरएनए संस्था भएको र यस्तै शिक्षा स्वास्थ्य क्षेत्रमा थुप्रै काम गर्दै आएको बताउनु भएको थियो । त्यसैगरी यस बिद्यालयले चालेको नमूना बिद्यालय निर्माण कदम आजको आबस्यकता भएको बताउदै सिद्दार्थ माविलाई आबस्यक आर्थिक तथा भौतिक सहयोग गर्ने आश्वासन समेत दिनु भएको थियो ।
भवन उद्घाटन गर्न उपाध्यक्ष कुमार पन्तको टोलि हेलिकप्टर चार्टर
भर्खरै सम्पन्न एनआरएनए आइसीसीको विश्व सम्मेलन पछि निर्बाचित समिति देश भर सामाजिक कार्यक्रममा दौडधुप गरिरहेका छन् ।यसै शिलशिलामा एनआरएनए स्विडेनको अनुदान भवन उद्घाटन गर्न हेलिकप्टर मार्फत उद्घाटन तथा हस्तान्तरण टोलि दिउसो करिब एक बजे सिद्दार्थ माविको प्राङ्गणमा उपस्थित भएको थियो ।
नेपालमा छोटो बसाइका बीच देशका विभिन्न स्थानमा भएका कार्यक्रममा उपस्थिति जनाउनु पर्ने भएको हुँदा हेलिकप्टर प्रयोग गर्न बाध्य भएको अतिथिहरुको भनाई थियो ।
स्थानीय समुदाय तथा अभियान्तामा फरक खुसि र नयाँ उत्साह
कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो । स्थानीय पौराणिक झाँकी समुह र आमा समूह द्वार अतिथिहरुलाई फूलमाला, अबिरका साथै दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
बिकट बस्तीमा गाडी आउदा हेर्ने र रम्चाउने मेला लाग्ने ठाउमा हेलिकप्टर आकाशमा घुम्दै आफ्नै आगनमा बसेको हेर्नेहरुको मेला झनै फरक नहुने कुरै भएन । बिद्यालय नमूना बनाउने अभियान चल्दै गर्दा स्थानीय तथा अभियान्ताले थुप्रै बाधा व्यवधान र चुनौतीहरु झेल्दै आएका छन्, यस्तै चुनौतीहरुको बिचमा सम्भावनाका हेलिकप्टरहरु सामुदायिक बिद्यालयको आगन टुप्लुक्क बस्दा हेर्नुहरुको खुसि बेग्लै थियो।
आफ्नो मातृभूमि छोडी विदेश पसेका नेपालीहरुले अभावको बस्तिभरि सात समुन्द्रपारी बाट खुसीको पोको बोकेर आउदा आफ्नै घर आगन तथा गाउँ समाजको बिकाश निकाश हुने भबिष्यवाणी गर्न थालेका छन् ।
गरिवको एकदिन फिर्ने सपना बाड्न थालेका छन् त्यो केवल शिक्षाको ब्यबस्थापन हुने पक्कापक्की गरेका छन् र आफ्ना सन्ततीहरुका लागि नमुना विद्यालय निर्माणमा अहोरात्र खटिरहेका छन् । एक दिन राज्यले पनि त्यही स्थानलाई आँखा लगाउने छ, यस्तै आशामा कुरिरहेका छन् ।
उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रमलाई बिद्यालय सूचना बिभाग प्रमुख के.बी. गुरुङले संचालन गरेका थिए भने कार्यक्रमको साभापति विब्यस अध्यक्ष तिलक राम ओली रहनु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य द्वारा स्वागत गर्दै अभियान संयोजक प्रेम बहादुर ओलीले नमूना बिद्यालय अभियानको बिषयलाई प्रस्ट्याउनु भएको थियो ।
हेर्नुहोस केहि झलकहरु :-