सिद्दार्थ माध्यमिक विद्यालय सुचना बिभाग/रोल्पा
शिक्षा विभागले मुलुकभरका विद्यालयहरुलाई छनोट गरेर तीन वर्षभित्रमा नमुना विद्यालयको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको थियो । शिक्षा विभागको उक्त योजना अन्तर्गतको नमुना बिद्यालय के हो ? कसरि निर्माण हुदैछन, यसकालागी छनौट मापदण्डहरु के के हुन? भन्ने बारे जानकारीका लागि यहाँ प्रस्तुत गरेका छौ।
के हो नमुना विद्यालय?
सामुदायिक विद्यालयलाई अभिभावक तथा बालबालिकाको पहिलो रोजाइको विद्यालयको रूपमा विकास गर्न मन्त्रालयले नमुना विद्यालय छनोट गरेको हो । यस्ता विद्यालयलाई दुई वर्षभित्रमा त्यस क्षेत्रका उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा विकास गर्ने र ती विद्यालयले अपनाएका राम्रा पक्ष अन्य विद्यालयलाई पनि प्रयोगमा ल्याउन प्रेरणा दिने उद्देश्य मन्त्रालयको छ ।
‘विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमुना विद्यालयको रूपमा रूपान्तरण गर्ने हाम्रो योजना छ’ शिक्षा विभागका निर्देशक दीपक शर्माले भन्नुभयो । यस्ता विद्यालयलाई दुई वर्षको अवधिमा भौतिक संरचना वृद्धि, प्रयोगशाला निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि चारदेखि पाँच करोड रुपैयाँसम्म अनुदान दिने सरकारी योजना छ ।
‘तर विद्यालयले पेस गरेको कार्ययोजनाको आधारमा मात्र पैसा दिने हो । मनपरी रूपमा वितरण गर्दैनौं’ शर्माले भन्नुभयो । विद्यालय छनोटमा विद्यार्थीको सिकाइ स्तर र नतिजाभन्दा पनि भविष्यमा आवश्यकताअनुसार भौतिक संरचना विस्तार गर्न सकिन्छ कि सकिँदैन भन्ने पक्षलाई आधार मानिएको विभागको भनाइ छ ।
सन् २०२३ सम्ममा एक हजारको हाराहारीमा नमुना विद्यालय छनोट गर्ने सरकारी तयारी छ । एउटा स्थानीय तहबाट न्यूनतम एउटा नमुना विद्यालय छनोट गर्ने पनि सरकारी तयारी छ । नमुना विद्यालय अन्य सामुदायिक विद्यालयको तुलनामा फरक हुनेछन् । सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तककै आधारमा पठनपाठन हुने भए पनि यहाँ करारमा पाँच वर्षका लागि प्रधानाध्यापकको नियुक्ति गरिनेछ ।
प्रतिस्पर्धाको आधारमा छनोट हुने प्रधानाध्यापकलाई खाइपाई आएको सुविधाको तीन भागमध्ये एक भागबराबरको रकम प्रोत्साहन भत्ताबापत प्रदान गरिनेछ । पाँच वर्षका लागि नियुक्त गरिने भए पनि तीन वर्ष र पाँच वर्षको अवधिमा कार्य सम्पादन मूल्यांकन गरिनेछ, कार्य सम्पादनमा चित्त नबुझेमा बीचैमा करार भंग गर्न सकिनेछ तर प्रधानाध्यापकलाई स्पष्टीकरण पेस गर्ने मौका दिइनेछ । यस्ता विद्यालयलाई विभिन्न शीर्षकमा तीन वर्षभित्रमा करिब चार करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराइने विभागका निर्देशक शर्माले जानकारी दिनुभयो ।
यस्ता छन् छनोट मापदण्ड
क) माध्यमिक विद्यालय हुनु पर्नेछ । प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालय हुनु पर्नेछ । तर कुनै स्थानीय तहमा प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्म सञ्चालित विद्यालय नमुना विद्यालय छनोटको आधारअन्तर्गत नपरेमा प्रारम्भिक बालशिक्षादेखि कक्षा १० सम्म सञ्चालित विद्यालयलाई लिन सकिनेछ ।
ख) पर्याप्त जग्गा भएको हुनु पर्नेछ । नमुना विद्यालयको रूपमा विकास गर्न भौतिक र शैक्षिक पूर्वाधार निर्माणका लागि विद्यालय हाताभित्र वा हातासँग जोडिएको तराईमा भए न्यूनतम दुई बिघा र हिमाली, पहाड तथा उपत्यका क्षेत्रमा भए न्यूनतम १० रोपनी जग्गा हुनुपर्नेछ । कुनै कारणले स्थापनाकालदेखि नै सार्वजनिक वा ऐलानी जग्गामा विद्यालय स्थापना भई सञ्चालनमा रहेको कुनै सामुदायिक माध्यमिक विद्यालयको आफ्नै स्वामित्वमा जग्गा नरहेको अवस्थामा त्यस्ता विद्यालयले सम्बन्धित स्थानीय तहबाट भोगाधिकारसम्बन्धी कागजात संलग्न गर्नु पर्नेछ ।
ग) विद्यालय सुरक्षित स्थानमा रहेको हुनु पर्नेछ । विद्यालयको भौगोलिक अवस्थिति बाढी, पहिरो, भूक्षयलगायत प्राकृतिक प्रकोपका दृष्टिले जोखिमपूर्ण स्थानमा नरहेको हुनु पर्नेछ । कुनै विद्यालय जोखिमपूर्ण स्थानमा छ वा छैन भन्ने विवाद उत्पन्न भएमा स्थानीय तहको शिक्षा कार्यालयले सोही तहको भूमिसम्बन्धी कार्य गर्न तोकिएको निकायको प्राविधिकको राय समेतका आधारमा दैवी प्रकोप उद्धार समितिसँग परामर्श गरी टुंगो लगाउनु पर्नेछ ।
घ) लिखित प्रतिबद्धता र सिफारिस पेस गर्नुपर्नेछ । संघ, प्रदेश र स्थानीय तहलगायतका निकायबाट समयसमयमा प्राप्त हुने मार्गदर्शन अनुरूप कार्य गर्न विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धतासहितको निर्णय पेस भएको हुनु पर्नेछ । सम्बन्धित स्थानीय तहबाट विद्यालयको विकास र सञ्चालनमा आवश्यक सहयोग र समन्वय गर्ने सिफारिसपत्र विद्यालयले आवेदन साथ पेस गर्नु पर्नेछ ।
ङ) नमुना विद्यालयका लागि छनोट हुने विद्यालयमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म शिक्षा नियमावलीले तोकेबमोजिमको कक्षागत न्यूनतम विद्यार्थी संख्याको कुल योग पुगेको हुनु पर्नेछ ।
छनोट भएका विद्यालयलाई यसरी बनाइनेछ नमुना
क) शिक्षण भवन तथा कक्षाकोठा बालमैत्री, अपांगमैत्री, विपद् प्रतिरोधात्मक साथै पर्याप्त कक्षाकोठाको संख्या र पूर्वाधार उपलब्ध हुनेछ । आधुनिक शिक्षण पद्धतिअनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिने गरी कक्षाकोठा व्यवस्थित गरिनेछ । प्रारम्भिक बाल शिक्षा कक्षाका लागि बालमैत्री राष्ट्रिय प्रारूपबमोजिमको पर्याप्त खेल तथा सिकाइ सामग्रीसहितको छुट्टै कक्षा हुनेछ ।
ख) प्रधानाध्यापक, शिक्षक एवम् कर्मचारीको लागि छुट्टै कोठासहितको प्रशासकीय भवनको व्यवस्था हुनेछ ।
ग) नमुना विद्यालयमा न्यूनतम दुई सय जना विद्यार्थीको लागि आवासीय प्रबन्ध मिलाइनेछ । जसमा ५० प्रतिशत छात्राहरूको लागि आवासीय प्रबन्ध गर्नुपर्नेछ ।
घ) आधारभूत तह र माध्यमिक तहका लागि सबै विषय क्षेत्र समेटिएको छुट्टाछुट्टै पुस्तकालयको व्यवस्था हुनेछ । पुस्तकालयलाई विस्तारै विद्युतीय पुस्तकालयको रूपमा विकास गर्दै लगिनेछ । पुस्तकालयमा ल्याङवेज किटको समेत व्यवस्था हुनेछ ।
ङ) विज्ञान विषयअन्तर्गत भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान तथा प्राविधिक धारतर्फका विषय क्षेत्रअनुसार सबै विद्यार्थीको सहज पहुँच हुनेगरी छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था हुनेछ । सूचना तथा सञ्चार प्रविधि प्रयोगशालामा नेटवर्किङको व्यवस्थासहित प्रोजेक्टरलगायतका उपकरण र न्यूनतम ४० सेट कम्प्युटरको व्यवस्था गरिनेछ ।
च) स्थानीय भूगोल र समुदायको अध्ययन गराउने उद्देश्यले कला, धर्म, संस्कृति, संस्कार, जीवनशैली, भेषभूषा, इतिहास, स्थानीय भौगर्भिक वस्तुहरू र परंपरागत प्रविधिजस्ता स्थानीय परिवेश झल्किने गरी विद्यालय हाताभित्र एउटा संग्रहालय रहनेछ ।
छ) विद्यार्थीको प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीसहितको छुट्टै प्राथमिक उपचार कक्षको व्यवस्था गरिनेछ । स्वास्थ्य सेवा उपलब्ध गराउन एकजना स्वास्थ्य सहायकको व्यवस्था गरिनेछ । विद्यालय स्तरमा प्राथमिक स्वास्थ्य सेवाका बारेमा अभिभावक तथा विद्यार्थीलाई निरोधात्मक, उपचारात्मक एवम् सचेतनामूलक स्वास्थ्यसेवा उपलब्ध गराइनेछ । विद्यार्थीको आवश्यकतानुसार ह्विल चेयर र स्ट्रेचर, प्राथमिक उपचार बक्स आदिको समेत व्यवस्था गरिनेछ ।
ज) विद्यार्थीको लागि शैक्षिक परामर्श तथा मनोसामाजिक परामर्शका लागि परामर्श कक्षको व्यवस्था गरिनेछ । परामर्शका लागि विद्यालयका शिक्षकहरूको क्षमता विकास गरिनेछ ।
झ) विद्यार्थीलाई विद्यालय तहदेखि नै व्यावसायिक सीपतर्फ उन्मुख गराउनका लागि स्थानीय सम्भाव्यतामा आधारित विभिन्न पूर्वव्यावसायिक क्रियाकलाप सञ्चालन गरिनेछ । जसका लागि एक छुट्टै कार्यशाला कक्षको व्यवस्था गरिनेछ ।
ञ) विद्यालयमा सबै विद्यार्थी तथा शिक्षकहरूको लागि कम्तीमा ४० जना बराबर १ धारा हुने गरी सुरक्षित भण्डारणसहितको पर्याप्त तथा स्वच्छ पानीको व्यवस्था गरिनेछ । ४० जना विद्यार्थी बराबर १ हुने गरी छुट्टाछुट्टै बालमैत्री, लैंगिक मैत्री, अपांगमैत्री शौचालय तथा वातावरण मैत्री विद्यालयको व्यवस्था गरिनेछ ।
ट) विद्यालयको हाताभित्र एक पटकमा एक सय जना विद्यार्थीले प्रयोग गर्न सक्ने चमेनागृहको व्यवस्था गरिनेछ । आवासीय भवनका लागि भान्छाकोठा तथा खाना खाने कोठा छुट्टाछुट्टै व्यवस्था गरिनेछ । आवासीय रूपमा रहने विद्यार्थी तथा अन्य विद्यार्थीको लागि स्थानीय स्तरमा उत्पादन हुने खाद्यसामग्रीसमेत प्रयोग गरी सन्तुलित तथा पोषणयुक्त खाना तथा खाजाको व्यवस्था हुनेछ ।
ठ) विद्यालयस्तरमा हुने सभा सम्मेलन, सांस्कृतिक कार्यक्रमलगायतका क्रियाकलापहरू सञ्चालनका लागि प्रत्येक विद्यालयमा कम्तीमा दुई सय जना क्षमता भएको एक अडिटोरियम हलको व्यवस्था गरिनेछ ।
ड) विद्यालयको हातामा सुरक्षित, बालमैत्री र वातावरणमैत्री घेरावार, फुटबललगायतका अन्य खेलहरू खेल्नका लागि उपयुक्त खेलमैदान, विद्यालयमा सम्पूर्ण विद्युतीय उपकरण निरन्तर सञ्चालनका लागि अवश्यक वैकल्पिक ऊर्जा प्रणालीको व्यवस्था, विद्यालय हातामा करेसाबारी तथा फूलबारीसहितको बगैंचा तथा विद्यालयको हाताको कुल क्षेत्रफलको कम्तीमा २० प्रतिशत क्षेत्र हरियाली क्षेत्र बनाइनेछ ।
अन्नपुर्ण पोष्टबाट साभार