आज सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो र अन्तर्राष्ट्रिय समूदायले शिक्षाको गुणस्तर, निरन्तरता र यस पृथ्वीमा बस्ने सम्पूर्ण मानव जगतको शिक्षामा सहज पहुँच होस् भन्ने उद्देश्यले ५० अाैं साक्षरता दिवस मनाइदैछ ।
विश्वभरिका विद्यालय, विश्व विद्यालय, शिक्षणसंग सम्बन्धित विभिन्न समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । यसपटकको ‘विश्व साक्षरता दिवस’कालागि विश्व साक्षरता संस्थाले “सीमाविहिन आकाश” अर्थात ‘The Sky’s the Limit’ भन्ने नाराका साथ उत्साहपूर्वक रूपमा विश्वभर मनाउने घोषणा गरेको छ । सबैजना साक्षर हुनु सबैको दायित्व हो, नेपालको परिपेक्षमा शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दो छ, हाम्रा छेउछाउमा बसोवास गरिरहेका हरेक उमेर समूहका कोही न कोही असाक्षर समूह हामी अझै पनि पाउन सक्छाैं । सामान्य अक्षर चिनेर लेखपढ गर्न र अकं अथवा सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।
साक्षरताको ‘ग्लोवल मनिटरिग रिपोर्ट’का अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र धेरैको एकदमै न्यूनस्तरको साक्षरतासंग सम्बन्धित सीपहरू छन् । २१ अाैं शताब्दिको यो प्रत्यूद्पादक प्रविधिमय यूगमा समेत विश्वका धेरै बालबालिकाहरु अझैपनि विद्यालय जान पाउँदैनन र पाउनेहरुले पनि दैनिक विद्यालय गएर विद्या हासिल गर्न पाएका छैनन । पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन ।
लेखिने अक्षरहरु र अकंहरुको महत्व मानव विकास, सामाजिक सन्तुलन र अागामी पीढीको वाैद्धिक स्तरकालागि अतूलनिय छ । अर्थात्ः यी अक्षर र अकंहरुसँग मानवजनबिच परिचय नगराएसम्म विकसित समाजको परिकल्पना असम्भव छ । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अकंबाट निर्मित शिक्षाको उज्यालो यो पृथ्वी र यहाँ बस्ने प्रत्येक मानवकालागि महत्वपूर्ण विषय हो । आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भएको भए यो साक्षरता दिवसको पृष्ठभुमी ‘हाम्रो पात्रोमा’ न त लेखिने थियो न पढिने नै थियो, अक्षरले भावना र जानकारी दर्शाउँदछ र अकंले तथ्य अनि सम्बन्धलार्इ छर्लंगै देखाइदिन्छ, एेना झै ।
नेपालमा विभिन्न चरणमा जारी प्राैढ शिक्षालगायतका कार्यक्रमहरुलाई अझै पनि द्रूतगतिमा निरन्तरता दिन जरुरी छ । हाम्रा माता पिता, हजुरबा, हजुर अामाको पीढि सबै पढि लेखि अाएका हैनन्, अाफ्ना केटाकेटी, नाति, नातिनाले पढिरहेछन् या ढाँटिरहेछन् भन्ने बुझ्नकालागि समेत प्राैढ शिक्षामा सम्बन्धित निकाय र शिक्षित जमात केन्द्रित हुन जरूरी छ ।
शिक्षाा केवल अक्षर र अंकसंगमात्र नजोडिएर सामाजिक चिन्तन, चलन र गरिबि चिर्नकालागि समेत अपरिहार्य बनेको छ । नेपालकै सन्दर्भ मात्र जोड्ने हो भने ‘शिक्षा’ अथवा अक्षर र अंकको सामान्य ज्ञानको पहुँच हुनु अघि नै अहिलेपनि यहाँ यदाकदा बालविवाहका घट्ना जानकारीमा अाइरहन्छन्, जुन अत्यन्तै दुःखद् विषय हो ।
खरिपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेकाेदेखि कालो पाटी अनि स्लेट सम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा ‘क’बाट कछुवा पढेका देखि कम्प्यूटरमा अक्षर चिनेका अहिलेको पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ परेका पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औंठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौ ।
उनिहरुलाई हामीले आफ्नो तर्फबाट के गरेर साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । साक्षरता प्रति सबैको दायित्व वोध होस, सबैलाई शुभकामना ।
—-
सुयोग ढकाल हाम्रो पात्रोबाट साभार