विजया पन्त ।
कुनै काम विशेषले एउटा विद्यालय पुगेकी थिएँ । नपढे पनि मैले असल मित्रको रूपमा किताबलाई लिने हुँदा मेरो हातमा एउटा कतिाब थियो । माघको महिना जाडो हुने हुँदा खाली समय छतमा एउटा बेञ्च रहेछ । त्यसै बेन्चमा बसेर यसो के किताबको पाना मात्र पल्टाएकी थिएँ । करिब दश, एघार वर्षको एउटा केटो दौडेर आयो र मेरो अगाडि रहेको एउटा बेन्चमा निस्फिक्रि, विनासंकोच लम्पसार परेर सुत्यो । उसको त्यो व्यवहार देखेपछि मेरो किताबतिरको ध्यान मोडिएर ऊतिर गयो ।
केटाकेटी स्वच्छ भावनाका हुने हुँदा बोलाउन अलिक सजिलो हुन्छ, त्यसैले मैले प्रश्न गरेँ । “ बाबु तिमी कति कक्षामा पढ्रछौ ?” मेरो प्रश्न सुन्ने बित्तिकै बेन्चबाट फुर्तिसाथ उठेर उसले भन्यो । “ म पाँच कक्षामा पढ्छु ।” त्यस विद्यालयमा दुई माध्यममा शिक्षा दिइन्छ भन्ने कुरा मलाई थाहा थियो । मैले फेरी प्रश्न गरेँ । “कुन माध्यममा पढ्छौ , नेपाली कि अंग्रेजी ?” उसले निडरका साथ उत्तर दियो । “नेपालीमा ।” “किन अंग्रेजी माध्यममा पढ्न सक्दैनौ ?” मैले फेरी प्रश्न गरेँ । उसले हातका बुढी र चोर औँला मिच्दै भन्यो “चाइयो नि !” उसको त्यो भनाइले बुझउँथ्यो पैसा नभएर अंग्रेजी माध्यममा पढ्न नसकेको । उसको शिरदेखि पाउसम्म हेरेँ उसको पोसाकले पनि देखाउँथ्यो ऊ सम्पन्न परिवारको केटा होइन । फेरी सोधेँ “आमा बुबाले के काम गर्नुहुन्छ ?” उसले भन्यो “घर बनाउने काम ।”
सरकारी विद्यालयमा पढ्ने कक्ष ५ को विद्यार्थी करिब १०, ११ वर्षको बालकमा परेको पैसाको छापले मेरो मन विथोलिदियो । आर्थिक असमानताको खाडल भो धनी र गरिब बचि बिभेद भो भन्दै समानताको लागि २००७ साल, २०४५, ४६ साल, १० वर्षे जनयुद्ध र ६२, ६३ को दोस्रो जनआन्दोलनहरू भए धेरैले सहादात प्राप्त गरे । धेरैको काख रित्तियो, सिन्धुर पुछियो कति आज पनि आन्दोलनका चोट लिएर अशक्त शरीर घिसारिरहेका छन् तर यसले आर्थिक समानता होइन शैक्षिक असमानता पो जन्माए छ भन्ने भो ।
म पञ्चायत कालमा पढेकी हुँ । त्यति बेला शिक्षाको यति ठूलो खाडल थिएन । विद्याललय जान चाहनेलाई पनि फरक विद्यालय थिएन । मलाई आज पनि थाहा छ । लुगा सिलाएर बाली उठाएर जीवन निर्वाह गर्नेका छोराछोरी माने दाइ, काले दाइ सुन्तली, भगवती, हामीसँगै पढ्ने र मिल्ने साथी हुँन् भने त्यस विद्यालयमा पाल्पा जिल्लाका विभिन्न धनीमा गनिने विर्तावालका छोराछारी पनि पढ्थे त्यति मात्र होइन आज बैँककिं क्षेत्रमा माथिल्लो पदमा रहनु हुने उच्च पदस्थ व्यक्तिहरूका भाइ बहिनी, छोराछोरी त्यही एउटै विद्यालयमा पढेका थियौँ र साथी पनि थियौँ तर शिक्षामा यस्तो खाडल थिएन । यसोभन्दा पञ्चायतको समर्थन गरेको भन्ने लाग्ला समर्थनभन्दा पनि सत्य कुरा गरेकी मात्र हुँ । किन विद्यालयभित्र एउटै कक्षामा एउटा बच्चा र अर्को बच्चा बीच यस्तो विभेद ? भन्ने प्रश्न मात्र हो ।
देशभरी विद्यार्थीको पोशाक एउटै रङको र उस्तै बनाउनुको कारण विद्यालयमा धनी गरिब सबै परिवारका विद्यार्थी पढ्न आउँछन् । धनीले राम्रो राम्रो लुगा लगाउँदा किन्न नसक्ने बच्चामा कस्तो मानसिक असर पर्छ होला ? कतै हिनताको भाव जागेमा, बाल मस्तिष्क आघातले सिकाइमा नराम्रो असर पार्छ भन्ने आधारमा नै युनिफम बनाएर समानतालाई ध्यान दिएको होला । तर आज बालमैत्री भनेर ठूला नारा लगाउने र सामान्य सजाय पनि दिन हुँदैन भन्दै ठूला कुरा गर्नेहरूले मानसिक रूपमा पर्ने आघातपट्टि किन ध्यान दिदैनन् ?
गल्ती महसुस गराएर हानेको दुई चार झापड बच्चले भोलि बिर्सन सक्छ तर आर्थिक असमानताका कारण एउटै विद्यालयमा एउटै कक्षा कोठामा धनी र गरिबको सिमारेखा कोरिदिएर बाल मैत्री होइन बाल आघात शिक्षा दिइरहेको कुरा त्यो बाल मस्तिष्कले कहिल्यै भुल्ने छैनन्ँ भन्ने कुरा नीति नियम निर्माताहरूले किन बुझ्दैनन् । एकातिर सडकका बालबालिका टिपेर ल्याएर पढाउ भन्ने अर्कोतिर अंग्रेजी माध्यमका नाममा बाल विभेद गर्ने । कस्तो न्याय हो गणतन्त्र शासन व्यवस्थाको ?
वि. स. २०३१ सालमा नै तत्कालीन राजा श्री ५ वीरेन्द्रले अनिवार्य र निशुल्क शिक्षाको घोषण गरी प्राथमिक तहसम्म निशुल्क शिक्षा दिइदै आएको थियो । त्यसपछि केके भो कति उथलपथल भो त्यो भनिरहनु पर्ने देखिदैन तर गणतन्त्र आएपछि त जनताको शासनकालमा धनी र गरिबको खाडल पुरिएला कि भनेको त्यो खाडल खानलाउनमा सिमित नभएर शिक्षामा पनि पुगेछ । आधारभूत तहसम्म मातृभाषमा र माध्यामिक तहसम्म निशुल्क शिक्षा भनेर संविधानमा लेख्छ अर्कोतिर एउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा शिक्षा दिने र माध्यमिक तहमा एउटालाई निशुल्क भन्दै नेपाली माध्यममा पढाउने र अर्को त्यही स्कुलमा शुल्क लिएर पढाउन कति जायज ? सक्छौ भने अंग्रेजी माध्यममा सबैलाई निशुल्क पढ्न पाउने व्यवस्था गर हैन भने संविधानको धारा ३६ हटाइदेऊ ।
एकपटक डा. भएर पनि किन सिकेराउत यस्तो व्यवहार देखउँछ भनेर उसको जीवनी थोरै पढेकी थिएँ । उसले क्याम्पस पढ्दा उसमाथि भएको दुव्र्यवहारले नै प्रतिहिंसात्मक भावनाको विकास गरिदिएको रहेछ । हो, मान्छे आफूमाथि अन्याय भएको जब बुझ्छ अनि बिद्रोह गर्न थाल्छ । बच्चैमा उसको congnitive Developmet जस्तो भएको छ व्यवहार पनि त्यस्तै देखाउँछ ।
त्यसैले Watson ले भनेका थिए “मलाई एक दर्जन केटाकेटी देऊ मेरो संसारमा डाक्टर, वकिल, शिक्षक, चोर डाकु, हत्यारा बनाइ दिन्छु ।” बालकमा सिकेका र उसमाथि समाजले पारेको छापले भोलिको व्यवहार देखाउँछ । यसो भनिरहदा म सिकेको समर्थक भएको भन्ने नबुझियोस् । भन्न खोजेको यो हो, एउटा पाँच कक्षामा पढ्ने बच्चाले मेरो बुबाआमा गरिब भएको र सरकारी स्कुलमा जहाँ निशुल्क पढ्न पाउने व्यवस्था सरकारले गरेको छ त्यहाँ पढ्दा मैले फिस तिर्न नसकेको कारण फरक माध्यममा पढ्नु पर्ने भो भन्ने दिमागले भोलि उसले साज्य, विद्यालय र शिक्षा दिने गुरुप्रति कति आदर गर्ला ? आजैदेखि उसमा कतै प्रतिहिंसाको भावना त विकास भएको छैन । यो त एउटा प्रतिनिधि मात्रमात्र हो । यस्ता हजारौँ छन् ।
त्यति मात्र होइन, उसले पढ्ने पाठ्यपुस्तक फरक छ । उसमाथि गर्ने व्यवहार फरक छ । अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी र नेपाली माध्यममा पढ्ने विद्यार्थी बीच निगरानीमा कति फरक छ ? एकपटक सबैले छातीमा हात राखेर बिचार गरौँ । त्यति मात्र होइन अंग्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थाीको पोशाक पनि फरक छ सम्बन्धित निकायको ध्यान किन त्यता जाँदैन ? यस्तै विभेदकारी व्यवहार गर्दै जान्छौ भने भोलि राज्यले हज्जारौँ सिके राउत नजन्माउन भन्न सकिदैन ।